सुत्केरी हुन नसकेर तीन दिनदेखि छटपटाउँदै गर्भवती

बाजुरा । हिमाली गाउँपालिका ३ की एक गर्भवती तीन दिनदेखि सुत्केरी हुन नसकेर घरमै छटपटाइ रहेकी छन् । साबिकको बिच्छाया गासिवस युनाकी २५ वर्षीया लालसरीलाई बुढा ३ दिनदेखि सुत्केरी व्यथाले च्यापेको छ। उनको अत्यधिक रगतश्राव भइरहेको आफन्तले बताएका छन् ।

नजिकै रहेको यूना आधारभूक्त स्वास्थ्य केन्द्रमा एकजना स्वास्थ्यकर्मी मात्र रहेको र उनी पनि गुम्बा गएको खबर गएको गर्भवतीका आफन्तले बताए। अर्को बिच्छाया स्वास्थ्य चौकीमा स्टेचरमा लैजान अप्ठ्यारो भएको र बाटोमा पहिरो आएकाले थप समस्या भएको उनका आफन्त अर्जुन रोकायाले बताए ।

बिच्छाया स्वास्थ्य चौकी पुग्न यूनाबाट चार पाँच घण्टाको पैदल दुरीमा पर्छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई खबर गरेको र उनीहरु बाटोमा आएको पहिरोले बीचमै रोकिएको रोकायाले बताए । यता हिमाली गाउँपालिकासँग कुरा गर्दा सम्बन्धित स्वास्थ्य चौकीले सिफारिस नगर्दासम्म आफूले कुनै प्रक्रिया अगाडि बढाउन नसकिने बताएको अर्जुन रोकायाले बताए ।

यूनाबाट बिच्छाया स्वास्थ्य चौकी पुग्नै चार पाँच घण्टा लाग्छ । बिच्छायाबाट कोल्टि स्वास्थ्य केन्द बोकेर ल्याउन तीन दिन लाग्छ। तीन दिनसम्म बोकेर ल्याउँदा बीच बाटोमै अलपत्र हुने डर लागिरहेको रोकायाले बताए ।

भीरको बाटो, वर्षाको समय भएकाले बाटोमा पनि पहिरा आएको हुँदा बोकेर ल्याउन समस्या भएको उनले बताए । बाजुरा जिल्लाको अति विकट मानिने साबिकको बिच्छ्या गाबिसबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुग्न तीन दिन लाग्छ भने सदरमुकाममा पुग्न चार पाँच दिन लाग्ने गर्छ ।

यतिबेला ग्रामिण सडक लगातारको वर्षाले अवरुद्ध भइसकेका छन्। कहाँ लैजाने, कसरी लैजाने भन्ने विषयमा अलमलमा परेको आफन्तले बताएका छन् । तत्काल उपचार सम्भव नभए ज्यानै जान सक्ने त्यहाँ स्वास्थ्यकर्मीले बताएका छन् । सुत्केरी व्यथा लागेपछि बिच्छ्या स्वास्थ्य चौकी गएको र उपचार असम्भ भएकाले कोल्टि प्रथामिक केन्द्र रिफर गरेको थियो । अप्ठेरो बाटो भएकाले गर्भवतीलाई घर लगिएको उनका आफन्तले बताए। अन्नपुर्ण पोष्टबाट

Add Comment